October 23, 2017

युवा मारवाडी संगठनको दोस्रो सम्मेलन भैरहवामा, हिमालयकर्मी दयाराम अग्रवाल सम्मानित

नरेश के.सी./भैरहवा, चैत्र २६ । व्यापारीक पृष्ठभूमिका मारवाडी समुदायहरु पछिल्लो समय समाजसेवामा समेत अग्रपंक्तिमा देखिएका छन् ।

नेपाल राष्ट्रिय युवा मारवाडी संगठनको दोस्रो सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तलले विश्वमै नरम स्वाभावका मारवाडी समुदायहरु सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । अध्यक्ष मित्तलले भने “हामीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई संस्थागत गर्नु जरुरी छ । मारवाडी समुदायलाई अन्तराष्ट्रियकरण गर्दै थप सक्रिय बनाउनु जरुरी छ । ”

अध्यक्ष मित्तलले २० वर्ष अगाडी स्थापना भएको संस्थाले धेरै महत्वपुर्ण काम गरेको जनाउदै मारवाडी भाषा साहित्यको विकासमा सबै मिलेर लाग्नुपर्ने र सो कार्यमा युवा पुस्ताको भूमिका प्रंशनीय रहेको पनि जनाए ।

कार्यक्रममा अल इन्डिया मारवाडी युवा मन्चका अध्यक्ष रवि अग्रवालले मारवाडी युवाहरु अब व्यापार गर्ने मात्रै नभएर आइपीएस अफीसर बन्ने, राज्यको नीति निर्माण तहमा पनि पुग्न ध्यान दिनुपर्नेमा जोड दिए । सोहि अवसरमा अल इन्डिया मारवाडी युवा मन्चका अन्तराष्ट्रिय संयोजक हेमन्त शाहले मारवाडी घरानाका युवाहरु विश्वमै सामाजिक अयिभन्ताको नमूना बन्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय युवा मारवाडी संगठनका राष्ट्रिय अध्यक्ष कन्चन कुमार अग्रवालले मारवाडी युवाहरुले नेपालको विकास र समृद्धिकोलागी हरेक तहबाट राज्यका निकायहरुलाई एकिकृत भई सक्रियतापुर्वक सहयोग गर्न तयार भएको जनाए । मारवाडी महिला मन्च केन्द्रिय उपाध्यक्ष बिना अग्रवालले मारवाडी समुदायले देश विकासमा पुराएको योगदानको राज्यले उचीत मूल्यांकन गर्नुपर्नेमा जोड दिइन् ।

मारवाडी समुदायका मुलुकभरीका सयौं युवाहरु यतिबेला भैरहवामा आएका छन् । उनीहरुले एकिकृत भई देश विकासमा योगदान दिने खाका सहित नयां नेतृत्व समेत चयन गर्ने मारबाडी युवा संगठन रुपन्देहीका सल्लाहकार रवि पारिखले जानकारी दिए ।

भैरहवामा जारी सम्मेलन ऐतिहासिकतापुर्वक सम्पन्न हुन गइरहेको आयोजक च्याप्टर रुपन्देहीका अध्यक्ष मनोज अग्रवालले जनाए ।

हिमालयकर्मी दयाराम अग्रवाल सम्मानित

मारवाडी समुदायको सकारात्मक चिन्तन, व्यवहारलाई संरक्षण गरेको, मारवाडी समुदायको कला संस्कृति र भाषाको सम्बर्धनमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएकोमा हिमालय टेलिभिजनका वरिष्ठ पत्रकार दयाराम अग्रवाललाई विशेष सम्मान समेत गरिएको थियो ।

उनलाई राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तलले खादा, प्रमाणपत्रले सम्मान गरेका हुन् । अग्रवाल हिमालय टेलिभिजनमा प्रशारित मारवाडी भाषाको लोकप्रिय कार्यक्रम आपणो नेपाल आपणो गौरबका प्रस्तोता समेत हुन ।