June 26, 2017

युनिसेफले मानव बेचबिखन तथा आप्रवासी तस्करीविरुद्ध अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाण्डौ, २४ फाल्गुन । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले नेपालसहित १३ मुलुकमा मानव बेचबिखन तथा आप्रवासीको तस्करीविरुद्ध अन्तर्राष्ट्रिय अभियान सञ्चालनको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्रसङ्घीय बालकोष र युरोपेली सङ्घको सहयोगमा उक्त अभियानको घोषणा गरिएको हो । काठमाण्डौमा मंगलबार आयोजित कार्यक्रममा उक्त संस्थाले मानव समाजको कलङ्कका रुपमा रहेको मानव बेचबिखन तथा आप्रावासीको तस्करी नियन्त्रण अपरिहार्य भएकाले सन् २०१९ सम्म उक्त अभियान सञ्चालन गरिने जनाएको हो ।

अभियानअन्तर्गत ती निकायले नेपालमा महान्यायाधिवक्ताको कार्यालयसँग मिलेर पीडितलाई कानुनी उपचारको बाटो अवलम्बनमा सघाउने, मानव तस्करी र बेचबिखनविरुद्ध प्रभावकारी रुपमा लड्न नेपाल प्रहरीलाई विशेष एकाइ स्थापनामा मद्दत गर्ने बताईएको छ ।

कार्यक्रममा दक्षिण एसियाका लागि राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयलका प्रतिनिधि सेर्गेई कापिनोसले मानव बेचबिखन तथा आप्रवासी तस्करीको अन्त्यका लागि सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए ।

उक्त अभियान दक्षिण अमेरिकी मुलुक ब्राजिल र कोलम्बिया, अफ्रिकाका इजिप्ट, मोरक्को, माली, नाइजर र दक्षिण अफ्रिका, पूर्वी युरोपका बेलारुस र युक्रेन तथा एसियाका नेपालसहित जनगणतन्त्र लाओ, किर्गिजस्तान र पाकिस्तानमा सञ्चालन गरिनेछ ।