November 18, 2017

यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण रोकेको भन्दै प्रदर्शन

काठमाण्डौ, ३ साउन । सवारी चालक अनुमति पत्र  (लाइसेन्स)  वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय  एकान्तकुनामा नाराबाजी तथा प्रदर्शन गरेका छन् ।

उक्त प्रदर्शनका कारण एकान्तकुना हुदै चल्ने सवारी साधन  अवरुद्ध भएका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विग्रियो । सर्बर विग्रिएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ ।मंगलबार पनि सर्बरमा समस्या आएको छ ।

एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।कार्यालय प्रमुख तेजनारायण यादवले प्रदर्शनकारीले बाहिरबाट ताला लगाएको र आफूहरुभित्रै थुनिएको दाबी गरे । सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।