यस वर्ष गुल्मीमा सुन्तला उत्पादनमा १८ प्रतिशतले वृद्धि

शिवलाल सुवेदी

गुल्मी,२० फाल्गुन । अधिल्लो वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

गुल्मीमा अघिल्लो वर्ष २ हजार ६ सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष ३ हजार १ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।

कृषि विकास कार्यालय गुल्मीमा अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत भन्दा बढी सुन्तला उत्पादन भएको छ । यस वर्ष झण्डै ११ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ ।

गुल्मीका दिगाम, बिरवास, हर्दिनेटा, गौडाकोट ,नयाँगाउँ, पिपलधारा, हाडहाडे, भनभने, अर्खले, अर्वेनी हर्मीचौर, जयखानी र अर्लाङकोट गाविसलाई सुन्तला फलफुल उत्पादन पकेट क्षेत्र घोषणा गरेको छ ।

जिल्लामा कुल १ सय ४३ जना सुन्तला बगैंचा धनी किसानहरु रहेका छन् । कृषि विकास कार्यालय गुल्मीका प्रमुख चक्रपाणी पन्थीका अनुसार जिल्लामा सुन्तला किसानहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।

कम मेहनतमा राम्रो आम्दानी हुन थालेपछि जिल्लामा पछिल्लो समय सुन्तला खेती गर्ने किसानहरु बढेका हुन् । पन्थीले भने “कार्यालयले पनि किसानहरुलाई तालिम, औजार र रोगका नियन्त्रणमा सहयोग गर्न थालेपछि यसको प्रभाव राम्रो भएको हो ।”

कृषि विकास कार्यालयका अनुसार जिल्लाका १३ गाविसमा झण्डै ७ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । जिल्लामा अहिले सुन्तला उत्पादन किसानहरुले १५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने गरेका छन् ।

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम तम्घास लगायत विभिन्न साना बजारहरु र मुख्य गरि बुटवल, कृष्णनगर, सन्धिखर्क, स्याङ्जा, पाल्पा, बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्म बिक्री हुने गरेको छ ।