November 20, 2017

यस्तो छ सिराहा ३ काे प्रतिस्पर्धा

जागेश्वर यादव/ लहान,२७ कार्तिक । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसा सदस्य निर्वाचनमा सिरहा क्षेत्र नं ३ मा रोचक प्रतिस्पर्धा देखिएको छ ।

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा ५ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिस्पर्धी नेकपा एमालेका लिलानाथ श्रेष्ठ बनेपछि देशव्यापी चर्चा भएको थियो ।

आगामी मंसिर २१ गते हुने प्रनितिधिसभा सदस्य निर्वाचनमा श्रेष्ठ माओवादी केन्द्रसहित बनेको वाम गठबन्धनको साझा उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि गोलबजार नगरपालिकाको १२, सिरहा नगरपालिकाको २२, नरहा, विष्णुपुर, अर्नमा गाउपालिकाकाको ७ वडा सहित ४१ वडा समेटेर कायम गरिएको क्षेत्र नं. ३ मा चार स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन ।

प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा १३ जना उम्मेदवार भए पनि वाम गठबन्धनका श्रेष्ठ, नेपाली कांग्रेसका अमर रेग्मी र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो स्थानीय तहमा पाएको मतसगै जिल्लाको पार्टी नेतृत्व तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको केन्द्रीय सदस्यको हैसियतले क्षेत्रका जनताका लागि गरेको काम नै आफनो जितको मुख्य आधार भएको बताए ।

त्यस्तै, लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरुको संस्थागत विकास र सुदृढीकरणका लागि जिल्ला पार्टीमा रहेर आफूले निर्वाह गरेको भूमिकाको कारणले यो पल्ट मतदाताले आफूलाई जिताउने दावी गर्छन कांग्रेसका उम्मेदवार रेग्मी ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश केन्द्रीय सदस्यको रुपमा रहेका यादव ३ नं. क्षेत्रमा संगठनात्मक आधार र मधेशका लागि पार्टीले खेलेको भूमिकाकै कारणले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।

यस्ता छन् ३ नं. क्षेत्रका तीन प्रतिस्पर्धी

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजीनितक यात्राको थालनी गरेका वाम गठबन्धनका ६० वर्षीय श्रेष्ठ ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

सिरहाको गोलबजार नगरपालिका ७ का श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएपछि राजनीतिक रुपमा लगतार अगाडि बढे ।

जिल्लामा एमालेको उपसचिव, सचिव हुदै जिल्ला पार्टी अध्यक्ष समेत भएका श्रेष्ठको चर्चा २०७० को संविधानसभाको निर्वाचनमा चुलिएको थियो ।

त्यसअघि जिविस उपसभापति भए लगत्तै जिल्लाको पूर्वाधार विकासका लागि पाच वर्षे योजना निर्माण र कार्यान्वयन कमलाको बाढीले वर्षेनी जिल्ला सदरमुकाम सिरहासहित वरिपरिका तत्कालीन ८ गाविसले भोग्दै आएको डुवानको समस्याको अन्त्य, ३ नं. क्षेत्रमा आफनो पहलमा भएका विकास निर्माणको कामलाई स्थानीय जनताले सम्झिरहेको श्रेष्ठले बताए ।

डाक्टरी पढ्न भारतको दरभङ्गा स्थित सीएम कलेज लगिएका अमर रेग्मी कांग्रेस नेता वीपी कोइरालाको राजनीतिक व्यक्तित्वबाट प्रभावित भएपछि बनारसतिर गए ।

२०१५ सालको आम निर्वाचनमा कांग्रेसबाट सांसद चुनिएका बाबु माधवप्रसाद रेग्मीले उनलाई डाक्टरी पढाउन चाहे तर वीपीको आदर्श र व्यक्तित्वबाट प्रभावित रेग्मी राजनीतिबाट नै समाजको उपचार गर्न सकिन्छ भन्ने लागेर २०३६ सालमा वीपीकै हातबाट कांग्रेसको सदस्यता लिएको बताए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रको ‘रानीतिक कु’ पछि बाबुसगै भारत निर्वासनमा रहेका उनी नौ वर्षपछि मात्र स्वदेश फर्किए । सिरहाको नरहा गाउपालिका २ का ६४ वर्षीय रेग्मी बहुदलीय व्यवस्था पुनर्स्थापना यता २०५३ देखि २०६३ सम्म पार्टीको उपसचिव, सचिव, उपसभापति हुदै कार्यवाहक जिल्ला सभापतिसम्मको भूमिकामा रहेका थिए ।

२०६४ को आम निर्वाचनमा तत्कालीन सिरहा ६ नं. क्षेत्रबाट कांग्रेस उम्मेदवार बनेका रेग्मी पराजित भए । त्यसयता पार्टीको महासमिति सदस्य रहेका रेग्मी लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक आन्दोलनमा आफूले खेलेको भूमिकाको कारणले जनताले जिताउने विश्वास व्यक्त गरे ।

जनकपुरस्थित रामस्वरुप रामसागर क्याम्पसमा नेविसंघबाट राजनीति शुरु गरेका अशेश्वर २०५३ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा सभापति पदमा लडेका थिए ।

त्यताबाट फर्किएर २०६४ देखि पाचवर्षसम्म राप्रपाको सिरहा जिल्ला अध्यक्ष, २०७० देखि ७२ सम्म केन्द्रीय सदस्य रहेका उनी २०७० को निर्वाचनमा क्षेत्र नं. ६ मा राप्रपाबाट छैठौं स्थानमा रहेका थिए ।

संविधान जारी भएसगै सुरु भएको मधेस आन्दोलनको क्रममा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका उनी त्यसयता केन्द्रीय सदस्य छन् । यादवले भने राजनीतिक निरन्तरता र पार्टीको संगठनात्मक कारणले निर्वाचन जित्नेमा दुक्क छु ।

स्थानीय चुनावको मतमा वाम गठबन्धन अगाडि प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ मा रहेको गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउपालिकाका ४१ वडामा माओवादी केन्द्र १२ कांग्रेस ११ एमाले र फोरमले ९ र ९ वडा जितेका छन् ।

क्षेत्र नं. ३ अन्तर्गत पर्ने ४१ वटै वडामा पछिल्लो स्थानीय तहको निर्वाचनमा एमाले १६ हजार तीन सय ४५, फोरम १४ हजार एक सय २८, कांग्रेस १२ हजार आठ सय ९४, माओवादी केन्द्र १० हजार सात सय ७० र राजपाले एक हजार सात सय ७८ मत ल्याएको छ ।