October 22, 2017

यदि तपाई पनि नियमित कसरत गर्नुहुँदैन भने सावधान

काठमाण्डौ, २१ चैत्र । ब्रिटिश हर्ट फाउन्डेसनको एक रिपोर्टको अनुसार, बेलायतमा दुई करोडभन्दा बढि मानिस व्यायामबाट कोसौं टाढा छन् ।

उक्त संस्थाले चेतावनी दिँदै भनेको छ, नियमित व्यायाम नगर्ने मानिसहरुलाई मुटुसम्बन्धी बिमारीको खतरा बढि हुन्छ र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा प्रत्येक वर्ष १.२ अर्ब पाउण्डको भार पर्दछ ।

बेलायती नागरिक हैरियट मलवैनीलाई ४४ वर्षको उमेरमा हृदयघात भएपछि उनलाई आफ्नो दिनचर्यामा थोरै परिवर्तन ल्याउन पर्ने अवस्था आयो ।

पुरुषको तुलनामा महिलाहरु व्यायामबाट वञ्चित हुने सम्भावना ३६ प्रतिशतले बढि हुन्छ । रिपोर्टको अनुसार, ८३ लाख पुरुषको तुलनामा १.१८ करोड महिला व्यायामबाट वञ्चित छन् ।

बेलायतमा १० असामयिक मृत्यु मध्ये एकजनाको मृत्यु व्यायाम नगर्दा हुने गरेको अध्ययनमा बताइएको छ । उक्त संस्थाका एशोसिएट मेडिकल डाइरेक्टर डा. माइक नेप्टेनका अनुसार, व्यायाम गर्दा मुटुसम्बन्धी हुने बिरामीबाट ३५ प्रतिशत र समयभन्दा पहिला हुने मत्युमा ३० प्रतिशतसम्म कमि ल्याउन सकिन्छ ।

हृदयघातको लक्षणहरु–

–छातीमा दुःख्नु र मुटुमा नकारात्मक असर देखिनु
– शरीरको अरु भागमा दुःख्नु
– मन अशान्त हुनु या चक्कर लाग्नु
– अत्याधिक मात्रामा पसिना आउनु
– सास फेर्दा समस्या हुनु
– मन स्थिर नहुनु आदि