म्यादी प्रहरी भर्ना अभियानको म्याद आज सकिँदै

काठमाण्डौ, १७ चैत्र । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले देशभर खुलाएको म्यादी प्रहरी भर्ना अभियानको म्याद बिहीबार सकिँदै छ ।

आगामी २०७४ वैशाख ३१ गते हुने भनिएको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीलाई भर्ना लिने गृह मन्त्रालयले जनाएको छ । म्यादी प्रहरीले ५५ दिनको नियुक्ति पाउनेछन् । उनीहरुले नेपाल प्रहरीका जवानसरह तलब सुविधा बुझ्नेछन् ।

नेपाल प्रहरीको मानव स्रोत विकास विभागले चैत ११ देखि १७ गतेसम्ममा काठमाण्डौ, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आह्वान गरेको थियो ।

एक हप्ताको समयमा म्यादी प्रहरी बन्न देशभर युवा आकर्षण देखिएको गृह मन्त्रालयको भनाई छ । काठमाण्डौको टेकुमा बिहीबार मध्यान्हसम्म करिब ३ हजार बढिले आवेदन दिइसकेका छन् ।