August 19, 2017

म्याजिक चप्पलको कारखानामा आगलागी, करोडौंको क्षति

उद्धव घिमिरे
विराटनगर, ४ चैत्र । मोरङको टंकिसिनुवारी गाविस –१ स्थित म्याजिक चप्पलको कारखानामा भीषण आगलागी भएको छ ।

आज बिहान अचानक लागेको आगलागी नियन्त्रण गर्न पूर्व क्षेत्रका तीन दर्जन दमकललाई अपरान्हसम्म लागेको र आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी उपरिक्षक सन्दीप भण्डारीका अनुसार चप्पल कारखानामा केमिकल तथा प्लाष्टिकका धेरै सामान भएको कारण आगो नियन्त्रणमा कठिन भएको बताए ।

उनले आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरान तथा सप्तरीको राजविराजबाट आएका १२ वटा दमकल प्रयोग भएका थिए भने ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासी खटिएको जानकारी दिए ।

विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको भएपनि आगलागीको कारण अझै खुलि नसकेको र आगलागीबाट कति क्षति भयो भन्ने विषयमा यकिन नभएपनि उद्योगको सम्पूर्ण तयारी माल, कच्चा पदार्थ तथा उद्योगका प्लान्टसमेत जलेर नष्ट भएको उपरीक्षक भण्डारीले बताए ।

म्याजिक चप्पल उत्पादन गर्ने जयश्री पियूटेक उद्योग विराटनगरको बगडिया समूहले सञ्चालन गर्दै आएको जनाइएको छ । उद्योगको म्याजिक ब्रान्डको चप्पल र जुत्ता पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बनेको छ ।