June 27, 2017

मोस्ट वान्टेड समसुल होदा पक्राउ 

उमेश दुबे, राम कुशवाहा

२५ माघ, बारा । भारतीय रेल लाइनमा विष्फोट गराउने तथा बाराको जंगलमा दुई भारतीय नागरिक दीपक राम र अरुण रामको हत्याको योजनाकार समसुुल होदालाई दुबईबाट पक्राउ गरि नेपाल ल्याइएको छ ।

प्रहरीले सोमबार बारामा पत्रकार सम्मेलन गरि होदा र उसका सहयोगीहरुलाई सार्वजनिक गरेकाे छ । भारतीय प्रहरीको सहयोगमा मोस्ट वान्टेड सुचीमा रहेका समसुुल होदा लाई नेपाल ल्याइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुमार उप्रेतीले बताएका छन् ।

बाराको करैया जङ्गलमा गत पुस १० गते भारतीय नागरिक दीपक राम र अरुण रामको घाटी रेटेर हत्या भएको थियो । हत्यामा होदाकाे सँलग्नता खुलेको थियो ।

भारतीय नागरिक दीपक र अरुणको हत्यामा संलग्न रहेको आरोपमा यस अघि पक्राउ परेका गढीमाई नगरपालिका १ सिमरा तीगछिया निवासी बृजकिशोर गिरी, कलैया १० निवासी मोजाहीर अन्सारी, कलैया ४ निवासी आसिस सिंह र उमेश प्रसाद कुर्मीको बयानको अधारमा भारतीय प्रहरी र इन्टरपोलको सहयोगमा होदालाई नेपाल ल्याइएको हो ।

२०७० सालमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर २ बाट सभासदका उम्मेदवार बनेका होदा पराजित भएपछि उनी माथी २ करोड भन्दा बढीको ऋण थियो । ऋणको भारले थिच्चिएका कारण उनी बैदेशिक रोजगारी गर्न भनेर दुबई पुगेका हुन् ।

दुबई बसाईका क्रममा होदाको संलग्नता मुस्लिम आतंककारी सँगठन आइएसआई संग रहेको भारतीय प्रहरीको आरोप छ ।
समसुुल होदाले असोज १५ गते घटस्थापनाको दिन बारासंग सिमा जोडिएको भारतको घोडासहन रेल्वे ट्रयाकमा बम राख्नका लागि गिरी बाबा भन्ने बृजकिशोर गिरीले रक्सौल गम्हरीका उमाशङ्कर पटेललाई भारतीय ६ लाख पेश्की उपलब्ध गराएको र पटेलले उक्त रकम दिपक र अरुण रामलाई सुम्पेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

विस्फोट नगराएपछि बृजकिशोर गिरी र मोजाहिद्दिन अंसारीले बाराको जंगलमा दिपक र अरुणको हत्या गरेको अनुसंधानमा खुलेको बाराका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतीले बताएका छन् ।