October 19, 2017

मोसुल हमलाबारे अमेरिकाले छानबिन गर्ने

काठमाण्डौ,१३ चैत्र । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकको मोसुलमा ठूलो संख्यामा गैरसैनिक हताहती भएको क्षेत्रमा आफू नेतृत्वको गठबन्धनले हवाई हमला गरेको स्वीकार गरेको छ ।

अमेरिकी मध्य कमान्डले , एक हप्ता भन्दा अघिको उक्त हवाई हमलाबारे छानविन शुरु गरिएको छ ।उसले इस्लामिक स्टेटका जिहादीहरुले विद्यालय र अस्पताललाई किल्ला बनाएर सर्वसाधारणहरुलाई मानवीय ढालका रुपमा प्रयोग गरिरहेको आरोप लगाएको छ ।

एक जना स्थानीय बासिन्दाले एक सय भन्दा बढी मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको हुनसक्ने बताए। अमेरिकी मध्य कमान्डले इराकी सुरक्षा फौजको आग्रहमा विमानहरुले हवाई हमला गरेको जानकारी दिएको छ । तर कुन देशको विमानले त्यो हमला गर्यो भनेर खुलाइएको छैन ।

एउटा विज्ञप्तिमा उसले गएको मार्च १७ मा पश्चिम मोसुलमा गरिएको हवाई हमला र गैर सैनिक हताहती भएको भनिएको भूभाग एउटै जस्तो देखिएको भन्दै त्यसबारे गम्भीरतापूर्वक छानविन अघि बढाइएको उल्लेख गरेको छ । अझै विस्तृत विवरणहरु आइसकेको छैन तर हवाई हमलामा १ सय भन्दा बढी मारिएको समाचारहरुमा जनाइएको छ ।