August 19, 2017

मोर्चा सहमतिमा नआए पनि चुनाव वैशाख ३१ मै हुने

काठमाण्डौ,७ वैशाख । संसद्का पाँच ठूला दलले वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको चुनावमा मधेसी मोर्चा सहमतिमा नआए पनि चुनाव गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले चुनावमा सहभागी गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग लचिलो भएर प्रस्तुत हुने तर सहमति नभए चुनाव नसार्ने निष्कर्ष निकालेका हुन् ।

सकभर मोर्चासँग सहमतिका लागि पहल गर्ने तर सहमति हुन नसके वैशाख ३१ मा एकै चरणमा चुनाव गर्ने भन्ने चार दलको औपचारिक धारणा आएको छ ।

चुनावको मिति नजिकिँदै गर्दा मधेसी मोर्चाले चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरे पनि संसद्का चार ठूला दलले मोर्चा नआए पनि वैशाख ३१ मै चुनाव गर्ने प्रतिबद्धता गरेका हुन । सरकार र निर्वाचन आयोगले पनि वैशाख ३१ का लागि घोषणा भएको चुनावको तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

चुनावका विषयमा देखिएको अन्योलतालाई स्पष्ट पार्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा फोरम लोकतान्त्रिक बाहेक कांग्रेस, एमाले, माओवादी र राप्रपाले मोर्चाको अवरोधका बीच पनि वैशाख ३१ को चुनाव नरोक्ने औपचारिक धारणा राखेका हुन । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।