October 19, 2017

मोर्चाले लखेट्यो एमालेकी रञ्जु झालाई

दिनेश शर्मा

राजविराज, २० फाल्गुन । नेकपा एमालेले सुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका कारण सप्तरीमा मधेशी मोर्चा र एमालेका कार्यकर्ताबिच टकराव सुरु भएको छ ।

संविधान कार्यान्वयनका लागि अभियान संचालन गरेरै छोड्ने एमाले र कुनै पनि हालतमा एमालेको अभियान सफल हुन नदिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अडानका कारण दुवै पक्षका कार्यकर्ता दुई दिनदेखि आमने सामने भईरहेका छन् ।

यसैक्रममा शुक्रवार मधेशी मोर्चाका कार्यकर्ताले एमाले सांसद तथा संसदको महिला बालबालिका ज्येष्ठ नागरीक तथा समाज कल्याण समितिका सभापति रञ्जु झा (ठाकुर) लाई लखेटेका छन् । राजविराज–५ को मदननगरस्थित एमाले पार्टी कार्यालयबाट राजविराज १ रेडक्रस कार्यालय आउँदै गर्दा मोर्चाका कार्यकर्ताले उनलाई लखेटेका हुन् ।

पार्टी कार्यालयबाट निस्कने बित्तिकै मोटरसाईलमा रहेका मोर्चाका कार्यकर्ताले झाको बा १ ज ८४८९ नम्वरको सरकारी गाडिमा तोडफोडको प्रयास गरेका थिए । तर, उनको गाडी ब्याक गरेर पुनः पार्टी कार्यालयमा छिरेपछि उनीहरु फिर्ता भएको जनाईएको छ ।

त्यसपछि प्रहरीको सहयोगमा झालाई रेडक्रश कार्यालय पुर्‍याइएको डिएसपी दानवहादुर कार्कीले बताए । तर मोर्चाका संयोजक दिनेश यादवले भने उक्त घटना स्थानीयवासीले स्वतः स्फुर्त रुपमा गरेको बताएका छन् ।

यसअघि शुक्रबार बिहानै अभियानको प्रचार प्रसारमा रहेका एमालेका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए । राजविराज १ हटियामा पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई घेरा हाली कालोमोसो दलेका थिए ।

बिहीबार पनि एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच सामान्य झडप भएको थियो । अभियानको पर्चा बितरण र घरदैलो गरिरहेको समयमा मोर्चा र एमाले कार्यकर्ताबीच सुरु भएको झडप प्रहरीले सामान्य बनाएको थियो ।