August 19, 2017

मोर्चाद्वारा व्यवस्थापिका संसदको बैठक बहिस्कार

काठमाण्डौ, २९ चैत्र । मधेस केन्द्रित दलले मंगलबारको व्यवस्थापिका संसदको बैठक समेत बहिष्कार गरेका छन् ।

मधेस केन्द्रित दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतलाई चित्त बुझ्ने गरी संविधान संशोधनको अर्को विधेयक ल्याएको सरकारले दाबी गरिरहेको बेला मधेसी दलले संसद बहिस्कार गरेका हुन् ।

व्यवस्थापिका संसदमा विचाराधिन संविधानको दोश्रो संशोधन विधेयक फिर्ता गरी अर्को प्रस्ताव ल्याउने सरकारी तयारीलाई मधेस केन्द्रित दलले विरोध समेत गरेका छन् । सभामुख ओनसरी घर्ती मगरले बैठक सुरु भएको जानकारी गराए लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै समय लिएर बोलेका तमलोपाका सांसद अकवाल अहमदले संविधानको धारा २ सय ७४ मा संघीय सीमांकन आयोग गठन पछि त्यसै आयोगले सिंमाकन निर्धारण गर्ने उल्लेख रहेको तर्फ ध्यानाकर्षण गराउँदै सीमांकन सहितको विचाराधिन विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोध रहेको बताए ।

तमलोपाका सांसद अहमदले बोले लगत्तै मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।