मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ

दिनेश शर्मा
राजविराज, १५ चैत्र । सरकारद्वारा घोषित वैशाख ३१ को स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।

कार्यालय समय सुरु हुनासाथ पुगेका मोर्चाका नेता–कार्यकर्ताले निर्वाचन कार्यालयको मुल गेटमै त्रिपालमा बसेर धर्ना दिइरहेका छन् ।

कार्यालयमा कर्मचारी प्रवेश गर्न नपाएपछि कार्यालय पूर्ण रुपमा ठप्प छ । गेट बाहिर सरकार, स्थानीय निर्वाचन, एमाले र त्यसका पार्टी अध्यक्ष केपी ओली लगायत निर्वाचन पक्षधरहरुको विरोधमा नारा जुलुस लगाईरहेका छन् ।

सडक ढाकेर मोर्चाका कार्यकतर्काहरु धर्नामा बसेपछि त्यस क्षेत्रको आवागमन पनि रोकिएको छ । पूर्व घोषित कार्यक्रम अनुसार साँझ ५ बजेसम्म कार्यालयमा धर्ना र घेराउ जारी राख्ने मोर्चा सप्तरीका संयोजक दिनेश यादवले जानकारी दिएका छन् ।

मोर्चाको कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सुरक्षाको प्रबन्ध मिलाउन नेपाल प्रहरीका एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी रामाधार यादव आफैं फिल्डमा खटिएका छन् ।

मोर्चाका कार्यकर्ताहरु संयमित रुपमै विरोध प्रदर्शन गरी रहेकोले अवस्था सामान्य रहेको एसपी द्विवेदीले बताए ।