मोर्चाका कार्यकर्ताद्वारा नगरपालिकाको कार्यालयमा तोडफोड

दिनेश शर्मा/राजविराज, १७ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

सरकारद्वारा घोषित वैशाख ३१ को निर्वाचन र स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै १० दिन अघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका कारण राजविराज नगरपालिकाको झ्याल, ढोका, टेबुल, कुर्सी र कम्प्युटर लगायतमा क्षति पुगेको छ ।

नारा जुलुस सहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले समन्वय समितिको लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरेका हुन् । सुरक्षाकर्मीले खोलेको दुबै कार्यालयमा मोर्चाका कार्यक्रताले पुनः तालाबन्दी गरेका छन् ।

दुबै कार्यालयमा गरिएको तोडफोडबाट लाखौंको क्षति भएको छ । मोर्चाका कार्यकर्ताले कार्यालयहरुमा तोडफोड गरिरहँदा सुरक्षा निकायको भने उपस्थिति थिएन । मोर्चाले सप्तरीका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटै स्थानीय तहमा तालाबन्दी गरेका छन् ।