August 21, 2017

मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा तोडफोड

दिनेश शर्मा

राजविराज, २५ फागुन । संघिय लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले बुधवार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।

राजविराज ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । ढुंगामुढाबाट घरका अधिकांश झ्याल र ढोकामा क्षती पुगेको छ । अनिश्चितकालिन सप्तरी बन्दको घोषणा गरेको मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरीमा प्रदर्शन गरिरहेका छन् । राजविराज लगायत जिल्लाका मुख्य–मुख्य बजार र चोकमा टायर बालेर प्रदर्शन गरीरहेका छन् ।

बजार, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै बन्द छन् । फाटफुट मोटरसाईकल, एम्बुलेन्स र दमकल बाहेक कुनै पनि सवारी साधन संचालनमा आएका छैनन् ।

आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलबार विभिन्न सवारी साधन र कार्यालयमा आगजनी र तोडफोड गरेपछि सप्तरीमा त्रासको अवस्था उत्पन्न भएको छ ।

मृतकको संख्या ४ पुग्यो

प्रहरीसँगको झडपका क्रममा गोली लागेर घाईते भएका सप्तरीको मलेठ–२ निवासी ३२ वर्षिय विरेन्द्र महतोको बुधबार मृत्यु भएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको बिहान साढे ८ वजे मृत्यु भएको हो ।

अस्पतालमै रहेका सदभावना पार्टीका सप्तरी जिल्ला अध्यक्ष सुनिल कुमार झाले चिकित्सकहरुलाई उद्धृत गर्दै टेलीफोन मार्फत महतोको मृत्यु बारे जानकारी दिएका हुन् । पेटमा गोली लागेका महतो मृत्युसँगै प्रहरीको गोली लागेर मर्नेको संख्या सप्तरीमा ४ पुगेको छ ।

यसअघि मलेठ २ का संजन मेहताको घटनास्थलमै तथा मलेठ ८ का पिताम्वर मण्डल र प्रसवनीका आनन्द साहको उपचारका क्रममा धरानमै मृत्यु भएको थियो ।