August 21, 2017

मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु

धनगढी, १३ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु ३ त ५०३२ नम्बरको ट्याक्टरको ट्रलीसँग ठोकिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।