August 19, 2017

मैना सुनुवार हत्याकाण्ड : महासेनानी र सहसेनानीलाई जन्मकैद

काठमाण्डौ,४ वैशाख । द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्नलाई जन्मकैद सुनाइएको छ ।

तत्कालीन शाही नेपाली सेनाका महासेननी र सहसेनानीद्वयलाई उक्त जन्मकैदको फैसला भएको हो ।

एक क्याप्टेले भने सफाइ पाएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको छ । बमोजिम जन्मकैद हुने फैसला गरेको हो।

घटनामा आदेशमात्रै पालना गरेका निरञ्जन बस्नेतलाई भने सफाइ हुने फैसला सुनाएको छ । खरेलथोक घर भएकी १५ वर्षीया  मैना सुनुवारलाई माओवादीको आरोपमा २०६० फागुन ५ गते बिहानै घरबाट पक्राउ गरी क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखी पाँचखालमा रहेको वीरेन्द्र शान्ति तालिम केन्द्रमा ल्याइएको थियो। पक्राउ गरेको भोलिपल्टै मैनालाई माओवादीको नाममा चेन अफ कमाण्ड विपरीत तालिम केन्द्रभित्रै चरम यातना दिँदै पानीमा चोपलेर करेण्ट लगाइएको थियो।
यातना सहन नसकी ज्यान गुमाएकी मैनालाई नजिकै खाल्डोमा पुरिएको थियो। स्थानीय भगवती माविको कक्षा ९ मा अध्ययनरत मैनालाई पक्राउ गरी बेपत्ता बनाएपछि बाबु पूर्णबहादुर र आमा देवीले विभिन्न निकायमा जानकारी गराएका थिय। उनलाई सेनाको टोलीले पक्राउ गरी लगेको स्थानीय बासिन्दाले जानकारी गराएका थिए ।

नेपाली सेनाले २०६१ सालमा मैनाको मृत्यु भएको जानकारी परिवारलाई दिएको थियो । सेनाले मैनाको मृत्यु भएको जानकारी गराएपछि आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा २०६२ मंसिर २१ गते चार जनाविरुद्ध जाहेरी दिएकी थिइन । सशस्त्र द्वन्द्वको समयमा प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गरेको थियो ।

देवीले सेनाविरुद्धको उक्त जाहेरी लिन अस्वीकार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। पछि सर्वोच्च अदालतको आदेशसँगै २०६४ माघ १७ गते सेनाका चारै जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्ला अदालतमा अभियोग दायर गरेको थियो। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ