October 19, 2017

‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान शुक्रबारबाट सुरु

काठमाण्डौ, १ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान शुक्रबारबाट शुभारम्भ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दशरथ रङ्गशालाबाट ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गरेका हुन् । स्वास्थ्यमन्त्री, विभिन्न नागरिक समाजका प्रतिनिधि, प्रसिद्ध अभिनेत्री मनिषा कोइराला र सर्वसाधारणसहितको र्‍यालीमा सहभागी हुँदै प्रधानमन्त्रीले स्वस्थ रहन पाँच सङ्कल्पमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।

दशरथ रङ्गशालाबाट निस्केको र्‍याली वसन्तपुरमा गई कार्यक्रममा परिणत भएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताले आफ्नो स्वास्थ्यमा ध्यान नदिए राज्यले मात्र जनताको स्वास्थ्यका लागि गर्ने कर्तव्य सफल नहुने भएकाले यस अभियान थालिएको बताए । अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्ने बताउँदै आफू स्वास्थ्य भए मात्र गुणस्तरीय जीवनयापन गर्न सकिने बताइन् ।

ग्रामीण भेगमा ७४ प्रतिशत घर परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धूवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याङ्क छ ।

अत्याधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैली पनि अर्को समस्या रहेको छ । वर्षभरि हुने कार्यक्रमले अन्य सम्बन्धित क्षेत्र, विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गर्ने छ ।