मेधेसी, थारु, आदिवासी जनजातिहरुको माग पुरा नगरी चुनाव गरिनु हुन्न : डा. भट्टराई

जनकपुर २१ फाल्गुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको दक्षिण सीमामा बसोबास गर्ने मधेसी समुदायले नेपालको सीमा र सभ्यताको रक्षा गरेको हुनाले मधेसी, थारु, आदिवासी जनजाति माथि नेपाल निर्माणकालदेखि गरिंदै आएको विभेदको अन्त्य गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन ।

शनिबार विभिन्न पार्टी त्याग गरी आएका नेता तथा कार्यकर्तालाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउनेक्रममा संयोजक भट्टराईले  भने ‘नेपाल कुनै एउटा जातिको वर्चस्व भएको एउटा जातिको मात्र राज्य नभई यो सबै आदिवासी, जनजाति, थारु, मधेशीको राज्य भएकोले यसलाई संघीय राज्यको रुपमा पुनःसंरचना गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने आवश्यकता महशुस गरेरै संघीय स्वरुपको कल्पना गरिएको  हो ।‘

उनले संघीयतासम्बन्धी विवाद हल गर्न संविधानसभा अन्तर्गत बनेको राज्य पुनःसंरचना समिति र पुनःसंरचना आयोगले प्रस्तावित गरेको १० प्रदेशको मोडल नै सबैभन्दा वैज्ञानिक रहेको तर्क गरे ।

डा. भट्टराईले भने ‘संवैधानिक प्रक्रियाभन्दा बाहिर रहेका मधेसी, थारु, आदिवासी, जनजाति सबै संविधानको प्रक्रियामा आउने वातावरण बन्नुपर्छ । ‘चुनाव हुनुपर्छ तर सबैभन्दा पहिले संविधान संशोधन गरेर मेधेसी, थारु, आदिवासी जनजातिहरुको माग पूरा गरिनुपर्छ ।’

संयोजक भट्टराईले देश संघीयतामा गइसकेपछि संविधानले व्यवस्था गरेको संघ, प्रदेश, स्थानीय तहको व्यवस्थापनका लागि संघको मातहत प्रदेश र प्रदेश मातहत स्थानीय तह हुने र चुनाव गराउँदा पहिले संघको चुनाव, प्रदेशको चुनाव र स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका जिल्ला नेता मोहम्मद ताहिर हुसेन तथा राष्ट्रिय मधेस समाजवादी पार्टीकी केन्द्रीय सदस्य सबनम खातुनको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेको नयाँ शक्तिले जनाएको छ ।