August 23, 2017

सिमेन्टकाे मूल्य वृद्धिमा पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत

काठमाण्डौ, २७ चैत्र । नेपाली सिमेन्टहरुमा भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँग भएको छलफलमा संघ मूल्य वृद्धिलाई पुनर्विचार गर्न सहमत भएको हो । छलफलमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई आग्रह गरेका छन् ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महंगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने बताए ।

छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा आफ्नो मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीहरुलाई आग्रह गरे ।