मुलुकको आवश्यकता र अन्तराष्ट्रिय मागको आधारमा शैक्षिक कार्यक्रम संचालन गर्नु पर्ने : प्रधानमन्त्री

काठमाण्डौ १ फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले उच्च शिक्षाको विकासलाई विशेष प्राथमिकता दिएको बताएका छन ।

जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयको प्रथम सभालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले उच्च शिक्षामा सुधारका संकेतहरु देखिएको उल्लेख गर्दै त्यसलाई दिगो बनाईराख्न पनि विश्वविद्यालयहरु सक्रीय हुनुपर्नेमा पनि जोड दिए ।

विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता र अन्तराष्ट्रिय मागको आधारमा शैक्षिक कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

सभाले विश्वविद्यालयको बजेट, आवश्यक जनशक्तिलगायतका ६० वटा प्रस्ताव पारित गरेको छ । विश्वविद्यालयले प्रस्ताव गरेको ५ करोड बजेट बैठकले पारित गरेको विश्वविद्यालयका उपकूलपति प्राध्यापक भरत झाले जानकारी दिए । त्यसैगरी विश्वविद्यालय संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको उनले जानाकारी दिए ।

सभाले हाल त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा सञ्चालित सिराहास्थित सुर्यनारायण,सत्यनारायण बहुमुखी क्याम्पस र राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसलाई पनि राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने प्रस्ताव पनि पारित गरेको छ ।