August 19, 2017

मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा ८ सवारी साधन पुरिए

काठमाण्डौ, २१ चैत्र । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा सुख्खा पहिरो खस्दा कम्तिमा ८ सवारी साधन पुरिएका छन् ।

बिहान दश बजेतिर एक्कासी माटोको ढिस्को खस्दा राजमार्गमा रहेका मध्ये पाँचवटा मोटरसाइकल, एउटा ट्रयाक्टर, एउटा भ्यान र एउटा कार पुरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक जनाको शव निकालेको छ ।

घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । घटनालगत्तै उद्धारका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । प्रहरी टोली दुर्घटना स्थलमा उद्धारका लागि पुगेको छ । सो क्षेत्रमा एम्बुलेन्स पनि तैनाथ गरिएको छ ।

अहिले एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो गएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही समयदेखि मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ ।