October 23, 2017

मिनिट्रक दुर्घटना हुदाँ दुुईको मृत्यु, दुईको अवस्था गम्भीर

जगदिश खनाल/ नुवाकोट, २७ चैत्र । नुवाकोटबाट काठमाण्डौ जाँदै गरेको बा.२ ख ४२५१ नम्बरको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाण्डौ जान लागेको मिनीट्रक पासाङल्यामु सडक खण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बेलकोटगढी नगरपालिका–२ का २६ वर्षीय सूदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ का २४ वषीर्य मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी दुबै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी बेलकोटगढी नगरपालिका–२ का २४ वर्षीय श्रीकृष्ण न्यौपाने र २३ वर्षीय राममणि न्यौपाने घाइते भएका छन् । गम्भीर घाइते भएका यी दुईकोे ग्रिनसिटी अस्पताल काठमाण्डौमा उपचार भइरहेको प्रहरी प्रमुख बोहराले बताए ।

मिनिट्रक ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा आज बिहान पौने ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । रातको सममया आफैं अनियन्त्रित भएर मिनिट्रक सडकबाट दुई सय मिटर तल पुगेको थियो । दुर्घटनाबाट मिनिट्रक पूर्ण रुपमा क्षति भएको छ भने करिब रु. दुई लाखको कुखुरा पनि नष्ट भएको छ ।