August 20, 2017

मोर्चाको बिरोध पछि राजविराज प्रवेश गर्न एमालेले गर्यो रुट परिवर्तन

दिनेश शर्मा

राजविराज, २२ फागुन । नेकपा एमालेको मेची महाकाली अभियानको विरोध गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आईतबार राजविराजमा मशाल र लाठि जुलुस प्रदर्शन गरेको छ ।

एमालेको अभियान प्रभावित गर्नका लागि आह्वान गरिएको सोमबारको चक्काजामको पुर्वसन्ध्यामा मसाल र लाठि जुलुस प्रदर्शन गरिएको हो । सोमबार सप्तरीमा आमसभा र बास समेत बस्ने एमालेको पुर्व निर्धारित कार्यक्रम छ ।

एमाले अभियान प्रभावित गर्न तथा सप्तरीको आमसभा र बसाई रोक्न मोर्चाले गाउँ–गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाएको छ ।
सोही क्रममा आईतबार लाठि र मसाल जुलुस प्रदर्शन गरिएको हो ।

प्रहरी प्रशासनले एमालेको अभियान र मधेशी मोर्चाको विरोध कार्यक्रमलाई लक्षित गरी जिल्ला भरी नै सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले नगरभित्र प्रवेश गर्ने सबै नाका, एमाले पार्टी कार्यालय लगायतका संवेदनशिल क्षेत्रहरुमा चेकजाँच तथा सुरक्षा बढाएको छ ।

यसैबिच, पार्टी अभियानका क्रममा मधेशी मोर्चाका कार्यकर्तासँग हुन सक्ने झडपलाई मध्यनजर गरी एमालेले सप्तरी जिल्ला प्रवेश गरेपछिको रुट र कार्यक्रम स्थल परिवर्तन गरेको छ । यस अघि भारदह–हनुमाननगर हुँदै राजविराज पुगेर स्थानीय राज रंगशालामा आमसभा गर्ने भनिए पनि हाल रुट र कार्यक्रम स्थल समेत परिवर्तन गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो निर्णयले भारदह–कञ्चनपुर–महुली हुँदै रुपनीसम्म पूर्वपश्चिम राजमार्ग भएर अभियान अघि बढने र रुपनी–राजविराज सडक खण्ड भएर रुपनीवाट ७ किलोमिटर दक्षिण तथा सदरमुकाम राजविराजवाट ३ किलोमिटर उत्तरमा अवस्थित राजविराज औद्योगिक क्षेत्रमा आमसभा गरिने छ ।

सदरमुकाम राजविराज हुँदै अभियान अगाडि बढाउँदा सदरमुकाममै दोहोरो झडप हुन सक्ने सम्भावनालाई कम गर्न एमालेले पछिल्लो निर्णय गरेको अनुमान गरिएको छ । यसले झडपको सम्भावनालाई समेत कम गरेको आम बुझाई छ ।

तर, मधेशी मोर्चाका कार्यकर्ताहरुले भने औद्योगिक क्षेत्रमा पनि कार्यक्रम हुन नदिने बताउँदै आएका छन् । सोहि अनुरुप एमालेले कार्यक्रम स्थल परिवर्तन गरेको जानकारी पाउनासाथ आईतबारै मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्र परिसर बाहिर नाराजुलुस गरेका थिए ।