October 19, 2017

मापदण्ड विपरितका सूर्तीजन्य पदार्थ नष्ट

खग प्रसाद चापागाई /कपिलवस्तु, २८ चैत्र । स्थानीय प्रशासनको अगुवाईमा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वको टोलीले तौलिहवामा बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा ४ किराना तथा सूर्तीजन्य पदार्थको पसल, २ होटल र १ पान पसल गरी ७ वटा पसलको अनुगमन गरेको थियो ।

उक्तक्रममा सुर्तिजन्य पदार्थ मध्येको विजार्ड फ्रेग्रेन्सेस उधोग प्रा.लि कृष्णनगरले उत्पादन गरेको शुद्धप्लस र शुद्धधन, जब्बार सुर्ति, गुलमन्जन लगायतमा सरकारले तोके अनुसारको क्यान्सरको खतराको चित्र नराखिएको भेटिए पछि त्यस्ता सामग्री जफत गरिएको थियो ।

जफत गरिएको सामग्री अनुगमन टोली र सञ्चारकर्मीको रोहबरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा नष्ट गरिएको छ । २ वटा होटल अनुगमनका क्रममा घरेलु तथा साना उधोग कार्यालयमा दर्ता नगरेको भेटिए पछि दर्ताको लागि ७ दिनको म्याद तोकी पत्र काटिएको छ ।

पसलमा मापदण्ड विपरीतका सूर्तीजन्य पदार्थ बिक्री वितरण र भण्डारण हुने गरेको सूचनाका आधारमा अनुगमन टोली पुग्दा पसल सञ्चालक भागे पछि स्थानीय प्रशासनले ताला लगाएकोे अनुगमन टोलीका संयोजक सहायक प्रजिअ अर्यालले बताए ।

अनुगमनका क्रममा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ ले गरेको व्यवस्था अनुरुपका सूर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण व्यवस्थित नभएको देखिएको उनले जनाए ।

सूर्तीहरुमा सचेतनामूलक चित्र नभएको र शुद्धप्लस गुटखामा बाहिरी खोलमा तोकिएको मापदण्ड अनुरुपको चित्र राखिए पनि भित्र रहेको प्याकेटमा झुक्काएर कम चित्र राखेको भेटिएको थियो ।