September 25, 2017

मापदण्डअनुसार भवन निर्माण गर्दा अवरोध, महानगर भन्छ : भवन निर्माण नियमसंगत छ

काठमाण्डौ २८ भदाै । स्वीकृत नक्साअनुसार जुद्ध सडकनजिकै निर्माणाधीन क्रिस्टल भवन मापदण्डअनुसार नै बनिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ। कामपाले २०७३ मंसिर २१ मा नक्सा स्वीकृति दिएपछि महर्जन विजनेस एसोसिएटले भवन निर्माण शुरु गरेको हो। तर केही स्थानीयले पुरातत्व विभागको मापदण्ड विपरीत भएको भन्दै विरोध जनाएपछि भवन निर्माण विवादमा तानिएको छ।

करिब ५० वटा पसलसँगै १ हजारलाई रोजगारी उपलब्ध गराउने योजनासहित निर्माणाधीन सो भवनलाई स्थानीयको नाममा केही व्यक्तिले एकलौटी रूपमा विरोध गरिरहेका छन्। हनुमानढोका दरबार क्षेत्र वरपर दर्जनौं भवन निर्माण भइरहेको भए पनि त्यसमा चासो नदेखाउने स्थानीयले क्रिस्टल भवन भत्काउन दवाव दिन थालेका छन्।

स्थानीय गणपतिलाल श्रेष्ठको नेतृत्वको टोलीले मापदण्ड विपरीत भवन निर्माण गरिरहेको आरोप लगाउँदै विभिन्न निकायमा दवाव दिन थालेका छन्। ‘नक्सा पास गरेर निर्माण भइरहेको अवस्थामा एकोहोरो रूपमा दवाव दिनुको कुनै औचित्य छैन।’ –एक स्थानीयले भने। तर श्रेष्ठले अन्य भवनको विषयमा पछि विचार गर्ने बताउँदै सो भवनलाई मापदण्डअनुसार नै निर्माण गर्न लगाएरै छाड्ने स्पष्ट पार्नुभयो। कामपाले नक्सा पास गर्यो भन्दैमा आफूहरूले विरोध गर्न नहुने भन्ने विषय गलत भएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘गल्ती कामको विपक्षमा उभिएका हौं, कसैको विरुद्धमा होइन।’

कम्पनीले भने कामपाले स्वीकृत गरेको नक्साअनुसार निर्माण गरेको बताउँदै आइरहेको छ। केही स्थानीयले दुई तलासम्म अन्डरग्राउन्ड निर्माण गरेको, मापदण्ड विपरीत ३५ फिटभन्दा बढी उचाइमा निर्माण जारि राखेको लगायतको आरोप लगाएका छन्। तर सो भवनको निरीक्षण गर्दा वेसमेन्ट दुई तला देखिँदैन।

कामपाका नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले २ हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफल भएको कुनै पनि भवन निर्माण गर्दा अनिवार्य रूपमा अन्डरग्राउन्ड निर्माण गर्नुपर्ने व्यवस्था गरेकाले सोहीअनुसार निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘नक्सा पास भएपछि कसरी कानुन विपरीत हुन्छ? नक्सा पास गरी भवन निर्माण गरिरहेको कम्पनीलाई हचुवाको भरमा दोष लगाउन मिल्दैन।’ उहाँले सो भवनको चार तले नक्सा पास भएको बताउनुभयो।

स्थानीय निकायले जारी गरेको निर्माणसम्बन्धी मापदण्डअनुसार अरूको घरलाई असर नपर्ने तथा वरिपरि स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी वेसमेन्ट, सेमिवेसमेन्ट बनाउन स्विकृत दिन सकिने उल्लेख छ।

त्यस्तै संरक्षित स्मारक उपक्षेत्रमा संरक्षित स्मारक क्षेत्रहरूमा नयाँघर वा भवन निर्माण गर्ने अथवा मर्मत सुधार गर्न चाहने व्यक्ति वा संस्थाले कुनै घर वा भवनको शैली र आकार प्रकारको नक्सा सम्बन्धित निकायबाट स्वीकृत गराई मात्र बनाउन पाइने उल्लेख छ। सोही मापदण्डअनुसार कम्पनीले कामपाबाट नक्सा स्विकृत लिएर भवन निर्माण गर्न लागेको हो।

भवन निर्माण स्विकृत दिने निकाय कामपाले नक्सा स्विकृत गरेपछि मापदण्डविपरीत भयो भन्दै विवाद गर्नु कुनै औचित्य नभएको सरोकारवालको भनाइ छ। सो कम्पनीले यसअघि ७ तला भएको क्लासिक भवनको तुलनामा करिब ४ तला होचो निर्माण गर्न थालेको छ। निर्माणाधीन सो भवन ४ तले हुनेछ। क्लासिक भवनले २०२४ साल कार्तिकमा ५३ दशमलब ३ फिट अग्लो भवन निर्माण गर्न स्विकृत लिएको थियो।

हाल निर्माण भइरहेको सो भवन करिब ४२ फिट मात्रै हुनेछ। हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं मापदण्ड–२०६४ को दफा ४ को ४ दशमलब २ नम्बर बुँदामा परम्परागत शैलीमा निर्मित पुराना घरहरूको उचाइ ३५ फिट भन्दा बढी रहेछ भने त्यस्ता घरहरूको पुनर्निर्माण गर्दा साविककै उचाइलाई कायम राखि पुनर्निर्माण गर्न अनुमति दिइने उल्लेख छ। सोही दफाअनुसार यसअघि ७ तला रहेको भवन अहिले चारतला मात्रै बनाउन लागिएको हो। पुरातत्वको मापदण्डअनुसार नै भवन निर्माण गरिरहेका छाै। एउटा घरको मापदण्डलाई लिएर विवाद गर्नु कुनै जरुरी छैन निर्माण कम्पनीका सञ्चालक कृष्ण महर्जनले भन्नुभयो।

उहाँले हनुमानढोका क्षेत्रवरपर मापदण्डविपरीत थुप्रै भवन रहेको तर केही स्थानीयले एउटै भवन मात्र नियमविपरीत भएको भन्दै हरेक पटक दबाब दिन थालेको आरोप लगाउनुभयो। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नक्सा स्विकृत दिने र नियमविपरीत देखिए भत्काउने जिम्मा कामपाको भएको बताउँदै यसमा विभागको कुनै दोष नभएको उल्लेख गर्नुभयो। ‘हामीले त नक्सा पास गर्नुअघि नै सो भवनको विषयमा सम्पूर्ण विवरण पठाइसकेका छौं। सोहीअनुसार कामपाले नक्सा पास गरेको होला’ –उहाँले भन्नुभयो।

हाल निर्माणाधीन सो भवन पुरातात्विक महत्वको सम्पदा मैत्रीस्वरुप नियो क्लासिकल हुनेछ। विभागले भने सबै नक्सा पास गर्ने सबै अधिकार कामपालाई हुने भएकाले सोही निकायको सल्लाह लिन आग्रह गरेको छ। विभागले केही स्थानीयको दबाबमा क्रिस्टल भवनको विषयमा मात्र अध्ययन गरिरहेको छ।

अन्य भवनको विषयमा किन छानविन नगरेको भन्ने विषयमा स्थानीय श्रेष्ठले भन्नुभयो– ‘हामी अन्य भवनको विषयमा पनि कुरा उठाउने छौं। पुरातत्व, जिल्ला प्रशासन कार्यालय, उपत्यका विकास प्राधिकरणलगायतका निकायमा एउटा भवनको मात्र फाइल लिएर कुद्ने श्रेष्ठले अन्य भवनको विषयमा कुनै पनि चासो दिएको पाइँदैन।’ केही स्थानीयकै कारण हनुमानढोका दरबार क्षेत्रको बहुचर्चित दश अवतार, काष्ठमण्डपलगायतका सम्पदा निर्माण हुन सकेको छैन।

नियममै नभएको विषय उल्लेख गर्दै अमानतमा सम्पदा निर्माण गर्नुपर्ने जनाउँदै श्रेष्ठलगायत केही स्थानीयले दश अवतारको टेन्डरसमेत रद्द गर्ने प्रयास गर्दै आएका छन्। कामपाले काष्ठमण्डपको ड्रइङ डिजाइन तयार गरी करिब १९ करोड रुपियाँमा निर्माण गर्ने अन्तिम तयारी गर्दासमेत केही स्थानीयले अवरोध सिर्जना गर्दै आएको स्थानीयकै आरोप छ।

सो भवनका सञ्चालक महर्जनले भवनलाई मजबुत पार्न केही अग्लो बन्न पुगेको बताउनुभयो। २०७२ सालको शक्तिशाली भूकम्पको कारणले सुरक्षित भवनको अवधारणाअनुसार २ फिटको विम राख्नु परेकाले उचाइ बढ्न गएको बताउनुभयो। यसअघि ७ तला रहेको सो भवन भत्किएपछि अहिले चारतला मात्रै निर्माण गर्न लागेको बताउँदै यसमा विवाद गर्न जरुरी नभएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘नियमअनुसार नै नक्सा पास गरेर निर्माण शुरु गरेका हौं, कसैसँग विवाद गर्नु जरुरी छैन।’ उहाँले एउटा नेपालीले केही राम्रो काम गर्न खोज्दा प्रोत्साहन गर्नुको सट्टा अरूको प्रगति देख्न नचाहने तत्वले विरोध गर्न थालेको बताउनुभयो। यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।