October 23, 2017

मानसिक स्वास्थ्यमा केन्द्रित हुँदै  विश्व स्वास्थ्य दिवस मनाइयाे

काठमाण्डौ, २५ चैत्र । मानसिक स्वास्थ्यमा केन्द्रित हुँदै विश्व स्वास्थ्य दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ’ भन्ने सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

आर्थिक संकट, बेरोजगारी, युद्धलगायतका कारणले संसारभर मानसिक रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ३ करोड मानिसमा मानसिक समस्या छ ।

दिवसका अवसरमा स्वास्थ्य विभागले काठमाण्डौका विशेष अन्तक्र्रियात्मक कार्यक्रमको आयोेजना गरेको थियो । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले मानसिक समस्या भएका धेरैजसो बिरामीले उपचार नपाएकाले सरकारले सबै बिरामीलाई उपचारमा ल्याउन मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार पारेको बताए ।

यो नीति लागू भएपछि सबै मानसिक बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिने उनले बताए । स्वास्थ्य मन्त्रालयले नीति कार्यान्वयन गर्न छुट्टै संयन्त्र गठन गर्ने गृहकार्य अगाडि बढाएको मन्त्री थापाको भनाइ थियो ।

मानसिक रोगीको संख्या सन् २००५ देखि २०१५ को बीचमा १८ प्रतिशतले बढेको छ । आपसी सद्भाव र सहयोग नहुनु साथै डरका कारण मानसिक रोगीको संख्या बढ्दै गएको संगठनले जनाएको छ । तथ्यांकका अनुसार, नेपालमा ७५ लाख मानिसलाई मानसिक रोगको समस्या रहेको छ ।