माघ ७ भित्र तीनै तहको निर्वाचन हुन्छ – देउवा

२६ माघ, कामाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न हुने दाबी गरेका
छन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले निर्वाचन सम्पन्न गर्नका लागि कांग्रेसले अग्रसरता लिने बताए ।

उनले वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएकाले निर्वाचनप्रति कुनै शंका नगर्न आग्रह गरेका छन् । सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि आवश्यक केही कानुनहरु बनिसकेको र केही संसदमा बीचाराधीन रहेकाले निर्वाचनको वातावरण बनिरहेको बताए ।

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियताको नारा दिँदै चुनावको वातावरण बिगार्न थालेको आरोप लगाएका छन् । उनले निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेकाले लचकता देखाउन एमाले र मधेसवादी दलहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्री शशांकका कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वचनको आवश्यकता रहेकाले जसरी पनि निर्वाचन गरिनुपर्ने बताए । कोईरालाको गत वर्ष माघ २६ गते राति निमोनियाका कारण निधन भएको थियो ।

युवा अवस्थामा भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति थिए । २०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

नेपालका ३७ औं प्रधानमन्त्री रहेका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।