October 19, 2017

माओवादी केन्द्रमा उम्मेदवार छनोटको अधिकार प्रदेश कमिटीलाई

काठमाण्डौ, २४ चैत्र । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उम्मेदवार छनोटको अधिकार प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाका सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटिलाई दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले हाल संसदमा विचाराधिन संशोधन विधेयक फिर्ता लिएर अर्को प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता पम्फा भुषालले अहिलेको प्रस्ताव फिर्ता गरेर ३–४ दिनभित्र अर्को प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिइन् ।

नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व सम्बन्धी पुरानो प्रस्तावमा स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रपति छनोटमा मतदानको व्यवस्था हटाउने र सीमांकन हेरफेर गर्दा अन्य प्रदेशको पनि अनुमति लिनुपर्ने व्यवस्था हटाउने गरी नयाँ प्रस्ताव तयार पारिने बताइएको छ ।