August 19, 2017

महोत्सवबाट क्याम्पसलाई दुई करोड १६ लाख आर्थिक सहयोग

दिलीप खत्री / खोटाङ, १३ चैत्र । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड १६ लाख आर्थिक सहयोग संकलन भएको छ ।

शैक्षिक कार्यक्रम विस्तार गर्दै दिक्तेल क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउनका लागि आवश्यक रकम जुटाउन सदरमुकाम दिक्तेलमा चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवबाट नगद दान, जग्गा दान, तुला दान, सुन दान, धान दान लगायतबाट २ करोड १६ लाख ९५ हजार ३ सय ३१ रुपैयाँ संलन भएको हो ।

क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आवश्यक आर्थिक अभाव भएकाले शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा नगद दानबापत १ करोड ९ लाख ७५ हजार ३ सय ३१, भूमी दानवापत १ करोड ६ लाख ८० हजार, धान दानबाट ३९ हजार, सुन दानबाट १ हजार लगायतका सहयोग संकलन भएको क्याम्पस प्रमुख प्राध्यापक डा. शुकराज राईले बताए ।

त्यस्तै नगद तथा तुला दानवापत ७२ लाख ३९ हजार ७ सय ४, शान्ति कलश सदस्यताबाट ३६ लाख ३० हजार, शालीग्राम पूजाबाट ५८ हजार ७२ र दान पेटिकाबाट ४७ हजार ५ सय ५५ रुपैयाँ नगद संकलन भएको आयोजकले जनाएको छ ।

क्याम्पसको उन्नतीका लागि स्थानीय नौ जना जग्गा दाताले क्याम्पसलाई जग्गा दिएका छन् । महोत्सवका माध्यमबाट क्याम्पसलाई जिल्ला तथा जिल्ला बाहिर बसिरहेका शुभेच्छुक, बिद्यार्थी, अभिभावक लगायतले सहयोग गरेका हुन् ।

२०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नकालागि श्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजालले बताए ।