August 20, 2017

महेन्द्र राय यादव भन्छन- ‘एमालेको कार्यक्रममा अवराेध किन गर्ने ?’

काठमाण्डौ, २५ फाल्गुन । मधेशी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यैपनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारेका छन् । उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताउँदै यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ भएको दाबी गरेका छन् ।

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए ।

एमालेका सचिव भीम आचार्यले आफ्नो पार्टीले २७ गतेदेखि हेटौंडाबाट आफ्नो अभियान सुरु गर्ने बताए । उनले आफ्नो पार्टीका बारेमा मधेशी जनताहरुकाबीचमा भ्रमहरु फैलाउने काम गरिएकोले उक्त भ्रम चिर्नको लागि पनि आफूहरु मधेश झरेको स्पष्ट पारेका छन् ।

सप्तरीको घटनालाई लिएर सरकार रमिते बनेको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टी कुनैपनि हालतमा संविधान संशोधनको पक्षमा नरहेको जिकिर गरेका छन् ।