August 19, 2017

महेन्द्रनगर पुगेर ओलीले भने- ‘सरकार चुइँगम चपाएर बसेको छ’

काठमाण्डौ, ३ चैत्र । नेकपा (एमाले)ले फागुन २१ गते झापाबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा सम्पन्न भएको छ ।

कार्यक्रमको समापन गर्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरी घटनाको जिम्मा मधेसी मोर्चले लिनुपर्न बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष शर्मा ओलीले एमाले कमजोर भयो भने देश कमजोर हुने बताएका छन् । उनले एमालेसँग देशलाई कमजोर बनाउन चाहनेहरुले एमालेले सुरु गरेको यात्रामा भाला, लाठी, ढुंगामुढा बोकेर आएको बताएका छन् ।

एमालेका नेताहरुमाथि सांघातिक आक्रमण गर्ने, नेताहरुको हत्या गर्ने प्रयास भएको बताएका छन् । उनले सप्तरी घटनाको जिम्मा मधेसी मोर्चाले लिनु पर्ने बताएका छन् । उनले भने ‘हामीमाथि आक्रमण गर्न दिएन भनेर प्रहरीले प्रहरीमाथि आक्रमण भयो । काठमाण्डौका आरामदायी सोफामा बसेका, एसी लगाएका, कानमा फोन लगाउनेहरुले आक्रमण गर्न आदेश दिएर ४८ जना प्रहरी घाइते बनाइयो, हत्याको जिम्मा तिनले नै दिनुपर्छ ।’

उनले जहाँ एमाले पुग्यो, त्यहाँ बन्द गर्नु भनेको एमाले देखि आत्तिएको बताएका छन् । उनले भने ‘सूर्य जहाँ पुग्छ, त्यहाँ उज्यालो हुन्छ । त्यही भएर तिनीहहरु आत्तिएका छन् । म भन्न चाहन्छु, हत्केलाले आफ्नो आँखा छेक्न सकिएला तर सूर्यलाई छेक्न सक्दैन ।’
उनले भने ‘नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने आजको आवश्यकता हो, नेपालको अन्तर्राष्ट्रिय पारवहनको अधिकार पनि सुरक्षित गर्नुपर्छ भनेर मैले प्रधानमन्त्री भएको बेला हिन्द महासागरसम्म नेपालको झण्डा भएको पानीजहाज चलाउने भनेपछि केही कुवाका भ्यागुताहरु कराए ।

उनले कांग्रेसलाई देख्दा भैँसी जत्रो देखिने तर भारी भने बाख्राको जत्रो पनि बोक्न नसक्ने बताएका छन् ।

त्यस्तै आलीले सरकारको आलोचना गर्दै अहिलेको सरकार चुइँगम चपाएर बसेको बताएका छन् । उनले भने ‘हामीले नौ महिनामा चीन र भारत भ्रमण गर्यौ । नाकाबन्दी खुलायौँ । सन्धिहरु गर्यौ । तर, यो सरकारले आठ महिनामा के गर्‍यो ? चुइँगम चपाएर बस्यो ।’