November 17, 2017

महिला नेतृहरुको उद्घोष, ‘हामी देशको नेतृत्व लिन सक्षम छौं’

काठमाडौ, २४ फाल्गुन । विभिन्न पार्टीका महिला नेतृहरूले आफुहरू देशको नेतृत्व लिन सक्षम रहेको दाबी गरेका छन् ।

१०७ औँ अन्तर्राष्ट्रिय नारी श्रमिक दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विभिन्न राजनीतिक दलसँग आवद्ध महिला नेतृहरूले आफुहरु देशको नेतृत्व लिन सक्षम रहेको बताएकी छन् ।

साक्षात्कारमा बोल्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले आजका नारीहरूसँग देशको नेतृत्व लिन सक्ने क्षमता रहेको बताईन ।

रेग्मीले भनिन्, ‘दक्षिण एशियाकी पहिलो महिला मन्त्री द्वारीका देवी ठकुरानीदेखि लिएर मंगला देवी, शैलाजा आर्चाय लगायत नारीहरूको देशको लागि असाधारण योगदान छ, त्यो योगदानको स्वरुप आजको दिनमा हामी यो देशको नेतृत्व लिन सक्ने भएका छौँ, यहाँ ३३ प्रतिशत मात्रै होईन ४० प्रतिशत संवैधानिक अधिकार उपभोग गर्नको लागि हामी तयार छौँ ।’

त्यस्तै नेकपा एमालेकी नेतृ शान्ता मानविले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भन्दा फरक तरिकाले देशलाई नयाँ दिशामा लिन सक्ने आफुसँग क्षमता रहेको धारणा राखिन् ।

मानविले भनिन्, ‘हामीलाई क्षमताहिनको संज्ञा दिने काम बन्द होस्, हामीसँग देश चलाउने क्षमता छ, हामी पुरुषले चलाएको भन्दा फरक तरिकाले देश चलाउन सक्छौँ, अधिकार एकै चोटी प्राप्त हुँदैनन्, प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै जानुपर्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ अमृता थापामगरले आगामी स्थानीय तहको निर्वाचन पछि महिलाहरूले देशको मुख्य भूमिकामा आफ्नो उपस्थिति देखाउने बताईन ।
उनले भनिन्, ‘संविधानले अधिकार दिएर मात्र हुँदैन, हामी महिलाहरूले अधिकारलाई वहन गर्नसक्नु पर्छ, आज नारीको स्थिति राम्रो बन्दै गएको अवस्था छ, यही स्थितिलाई अझै सशक्त तरिकाले अघि बढाउनुपर्छ ।’

उनले अघि थपिन, ‘हाम्रो समाजमा संविधान बराबरी भनेर वकालत गरिन्छ तर गर्भबाटै छोरालाई अंश दिने र छोरीलाई पराईको घर जाने त हो भन्ने जस्तो विभेदकारी व्यवहारको अन्त्य हुनुपर्छ, अबका नारीहरूले मत हाल्नेमात्रै होईन, आफैलाई चुन्ने अवस्थामा पुगेका छौँ ।’

त्यस्तै मधेशी मोर्चाकी नेतृ डिम्प कुमारी झाले सप्तरीको घटनाको भत्र्सना गरेकी छन् । झाले महिलाहरुलाई अहिलेसम्म पनि नेपालमा उपेक्षा गरिएको गुनासो पोखिन् । उनले भनिन्, ‘हामी महिलाहरु सक्षम छौं, तर पितृसत्तात्मक समाजमै छौं, हामी महिलाहरुलाई हेपिएको छ, हामी के कुरामा कमी छौं, हामी पनि योग्य र सक्षम छौं ।’

उनले ०६२/६३ को जन आन्दोलनपछि पनि नेपालमा धेरै सरकार गठन भैसकेको तर क्याविनेटमा महिलाहरुको उपस्थिति न्यून रहेकोमा गुनासो पोखिन् । झाले थपिन्, ‘हामी महिलाहरुपनि सक्षम छौं, तर अझैपनि हामीलाई विश्वास गरिएको छैन ।’

उनले संविधान संशोधन नभएसम्म मधेशमा चुनाव जबरजस्ती गर्न खोज्नु रगतको होली खेल्न खोज्नु भन्ने टिप्पणी गरिन् । मधेशलाई बहिष्कार गरेर चुनाव गर्न खोजिनु गलत भएको बताईन् । २० वर्षदेखि स्थानीय तहको निर्वाचन नगर्दा केही नबिग्रिने अहिले दुई चार महिना स्थगन गर्दा के विग्रिन्छ भन्दै प्रश्न गरिन् ।