महिला तस्करीमा मन्त्रालयमाथि लगाइएकाे अारोप पुष्टी गर्न मन्त्री महतकाे चुनौती

काठमाण्डौ, २१ चैत्र । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार खाडी मूलुकमा घरेलु कामदारका रुपमा नेपाली महिलाको तस्करीमा मन्त्रालयको समेत भूमिका देखिएको भन्दै परराष्ट्रमन्त्रीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

सोमबार काठमाण्डौमा आयोजित साक्षात्कारमा परराष्ट्रमन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको खबरले आश्चर्यमा परेको बताए ।

आफूले राम्रो काम गरिरहेको दाबी गर्दै कांग्रेस नेता समेत रहेका महतले सबै गैरकानूनी काम रोक्नुपर्छ भनेर निर्देशन दिँदा समेत प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको बताए ।

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा जारी भएको निर्देशिका कार्यान्वयन गराउन आफूले पहल गरेको उनले प्रस्ट पारे ।