November 17, 2017

महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको तयारी हुदै

काठमाण्ठौ, १२ फाल्गुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने भएको छ ।

अति महत्वकांक्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताएका छन् ।
मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ ।

यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट माग समेत गरेको छ । हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि दुई अर्ब ४२ करोड बजेट रहेको छ ।

बैठकमा मन्त्री खड्काले ज्येष्ठ नागरिक ऐन संशोधनको अन्तिम चरणमा रहेको जानकारी दिँदै यसले जन्मदिने बाबुआमालाई बृद्धाश्रममा पु¥याउने प्रवृत्तिलाई अन्त्य गर्ने बताए ।
हाल मन्त्रालयले वृद्धाश्रम अतिरिक्त बृद्धवृद्धाका लागि प्रमुख सहरमा ४ सय ९० वटा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ ।

बैठकमा सांसदहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याणको बजेट वृद्धि गर्न माग गरेका थिए । समितिले सरकारलाई यसअघि दिएका निर्देशनलाई कार्यान्वयन गर्न पुन निर्देश गरेको छ ।