August 22, 2017

महिलाको पाठेघर र स्तन क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने तयारी हुँदै

काठमाण्डौ, १६ फाल्गुन । महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खण्डकाले महिलाको पाठेघर तथा स्तन लाग्ने क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने गरी गृहकार्य भइरहेको बताएका छन् ।

उनले क्यान्सरको उपचार हुने सबै अस्पतालका व्यवस्थापन तथा चिकित्सकसँग छलफल भइरहेको बताएका छन् ।

त्यस्तै मन्त्री खड्काले काठमाण्डौको कारागारमा रहेका महिला कैदीका लागि कारागारमै सीपमूलक कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन् ।

मन्त्रालयले निजामती, शिक्षा, स्वास्थ्य, सेना तथा निजी क्षेत्रका सबै कर्मचारीको तलबको १० प्रतिशत आ–आफ्ना आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने तथा ज्येष्ठ नागरिकले पनि कुल सम्पत्तिको ७५ प्रतिशतभन्दा बढी सन्ततिलाई दिन नहुने योजना ल्याउन लागेको बताए ।

सोमबार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन पनि गरेको छ ।
समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य छन् ।