महानगरपालिकाले सार्वजनिक गर्‍यो ३५ बुँदे कार्ययोजना, स्काई रेल देखि सडक बढार्ने व्रुमरसम्म

काठमाण्डौ, १८ चैत्र । काठमाडण्डौ महानगरपालिकाले स्काई रेल चलाउने देखि सडक बढार्ने व्रुमर किन्ने ३५ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाण्डौमा एक कार्यक्रम गर्दे महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वरराज पौडेलले आफ्ना सेवाहरुलाई पारदर्शी बनाउने कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजना अनुसार महानगरका सबै अधिकृत र विभागीय प्रमुखलाई ३ सिफ्टमा नै सेवा प्रवाह सुधारका लागि काम गर्न लगाउने योजना रहेको उनले बताए ।

महानगरले घर निर्माण इजाजतका लागि फिल्ड निरीक्षण बढाउने र ३ हजार वर्ग फिटसम्म बन्ने घरको निर्माण इजाजत फिल्डबाटै दिने ब्यवस्था पनि गर्ने भएको पौडेलले बताए ।

यसै गरी करको दायरा बढाउन प्रत्येक करदाताको पहिचानका लागि फारामको प्रयोग गर्ने योजना पनि महानगरपालिकाले सार्वजनिक गरेको छ ।

कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले अल्पकालीन र दिर्घकालीन योजनाले काठमाण्डौ बासिलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले महानगरपालिकाले ल्याएको कार्ययोजनालाई मन्त्रालयले सहयोग गर्ने आश्वासन पनि दिए ।

महानगरपालिकाले मुल सडकसँग जोडिएका शाखा सडकको पहिलो खण्ड कालोपत्रे गर्दै जाने योजना पनि सार्वजनिक गरेको छ । सार्वजनिक नीजि साझेदारीको मोडलबाट काठमाण्डौ भित्र २ सय देखि ३ सय ठाउँमा लोकेशन म्याप र सडक साइन बोर्ड राख्ने योजना पनि सार्वजनिक गरेको छ ।