May 23, 2017

मन्त्रीपरिषदको निर्णय : म्यादीलाई ५५ दिनको ५१ हजार

काठमाण्डौ,८ वैशाख । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार म्यादी प्रहरीले ५५ दिनको तलबबापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरूले पोशाक भत्ताको रूपमा थप ७ हजार एक सय रुपैयाँ पाउँनेछन । अघिल्लो चुनावमा पोशाक नपाएको भन्दै गुनासो गरेपछि सरकारले पोशाक बराबर सो रकम दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ । यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरूलाई थप विशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ । सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि विशेष बिमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख रुपैयाँबराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

यस्तै उनीहरुका लागि एक लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा गरिने भएको छ । ५५ दिनभित्र कुनै म्यादी प्रहरी बिरामी परे एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्नेछ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।