August 23, 2017

मनाङमा हिउँ हटाउदै सडक खुलाइँदै

सृजना घिमिरे / लमजुङ ५ चैत । लगातार एक हप्तासम्म परेको ठुलो हिमपातका कारण अबरुद्ध बनेको बेसीशहर–चामे सडकमा हिउँ हटाइएको छ ।
मनाङ क्षेत्रको सडकमा जम्मा भएको हिउँ सेना तथा प्रहरी मिलेर हटाइएको हो । हिउँ हटाइएपनि तालदेखि धारापानीसम्मको सडकमा ठुला–ठुला ढुङ्गा खसेका कारण सडक अबरुद्ध नै रहेको मनाङ प्रशासनले जनाएको छ ।
मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सडक डिभिजन दमौलीले सडक खुलाउने कार्य गरिरहेको छ ।

सहज ठाउँमा सेना, प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्नका लागि जिल्ला समन्वय समितिमार्फत एक्साभेटर प्रयोग गरिएको पन्तले बताउनुभयो । सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको पन्तले बताउनुभयो ।
चामेदेखि माथिल्लो मनाङसम्मको सडकमा हिउँ हटाउन एक्साभेटर प्रयोग गरिएको छ । कतिपय ठाउँमा मजदुर प्रयोग गरेर हिउँ पन्छाइएको प्रशासनले जनाएको छ ।

सडक खुलाउन स्थानीय पर्यटन समितिको साथै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) समेत संलग्न भएको छ ।
एक्याप मनाङका लेखा तथा प्रशासन प्रमुख कैलाशबाबु तिवारीका अनुसार सडकको हिउँ हटाइएको र तापक्रम तात्दै गएपछि चामे आइपुगेका विदेशी पर्यटकहरु थोरङ्ला भञ्ज्याङतर्फ लागेका छन ।