August 23, 2017

मधेसी मोर्चा बिना पनि निर्वाचन गरिन्छ : खनाल

काठमाण्डौ, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ ले संविधान संशोधन पारित नभएपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने, ‘चुनावको विकल्प छैन, जनताले चुनाव चाहेका छन्, मुलुक चुनावमय भइसकेको छ, सरकारले चुनाव सम्पन्न गर्न युद्धस्तरमा काम गरिरहेको छ ।’

उनले मधेशी मोर्चासँग कुरा नमिल्दा पनि अब चुनाव नरोकिने स्पष्ट पारे । उनले भने, ‘मोर्चाका साथीहरुसँग हामी निरन्तर संवादमै छौं, वार्ता तथा छलफलबाट पनि कुनै सहमति निस्किएन भने पनि हामी अब चुनाव रोक्ने पक्षमा छैनौं, चुनाव हुन्छ ।’

उनले स्थानीय तहको कार्यान्वयनसँगै पहिलो पटक जनतामा विकास पुगेको अनुभूति जनताहरुलाई भइरहेको जिकिर गरे ।

उनले आगामी २०७४ माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले सरकार त्यही अनुरुप गम्भिर भएर निर्वाचनको तयारीमा जुटेको बताए ।

यद्दपी उनले संविधान संशोधनमार्फत मधेशी मोर्चाको माग सम्बोधन तथा समस्याको निकासको लागि सरकारले अन्तिम प्रयत्न गर्ने जिकिर गरे ।