August 21, 2017

मधेसी मोर्चाले भन्यो – ‘मधेसमा दमन भयो’

काठमाण्डौ, २ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी सदनमा गराएको छ ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा मोर्चाका तर्फबाट तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले तीन बुँदे सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

बुधबारको संसद बैठकको सुरुमै यादवले सात दिने अल्टिमेटमलाई सरकारले बेवास्ता गरेकाले आजदेखि समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा बस्ने जानकारी गराए ।

साउन १९ गते पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन हुँदा मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने लगायतको तीन बुँदे सहमति भएको थियो ।

मोर्चामा आबद्ध सात दलसँग संसदमा ४२ जना सांसद छन् । मोर्चाले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको चुनाव गैरकानुनी भएकाले फिर्ता लिनुपर्ने दाबी गरेको छ ।

पुनर्संरचना आयोगले अपूर्ण प्रतिवेदन दिएकाले त्यसका आधारमा हुने स्थानीय चुनाव पनि वैधानिक नहुने यादवको भनाई छ ।

एमालेको मची महाकाली अभियानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर मेधसीमाथि दमन गरेको भन्दै आपत्ति समेत जनाएका थिए ।

यादवले बोले लगतै मोर्चाका सांसदहरुले सदनको कामकारबाही वहिष्कार गरेका थिए ।