August 17, 2017

संविधान संशोधन मोर्चालाई निर्वाचनमा भाग लिने अवसरः प्रधानमन्त्री

काठमाण्डौ, २९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले तयार गरेको संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चालाई पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने मौका मिलेको बताएका छन् ।

मंगलबार व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुन्छ भने दुई चरणमा स्थानीय तहको निर्वाचन गर्नु राष्ट्रको हितमा हुने प्रष्ट पारे ।

तर उनले सरकारको ध्यान एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नमै केन्द्रित रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चा र सत्तारुढ गठबन्धनसँग छलफल गरेपछि स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने वा नगर्ने टुंगो लाग्ने जानकारी दिए ।

प्रधानमन्त्री दाहालले तराईका केही जिल्लामा १०–१५ दिन ढिला निर्वाचन गराउँदा राष्ट्रको हित हुन्छ भने सरकार त्यसो गर्न पनि तयार रहेको उल्लेख गरे ।

कार्य क्षमताको मूल्यांकनको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्ने नयाँ परम्पराको सुरुवात समेत गरेको दाबी गर्दै प्रधानमन्त्री दाहालले अब प्रहरी महानिरीक्षकको नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने परम्पराको अन्त्य हुने विश्वास पनि व्यक्त गरे ।

अख्तियार प्रमुखको नियुक्तिमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्री दाहालले अब त्यसलाई टुंगोमा पु‍र्‍याउन सरकार गम्भीर भएर लागि परेको स्पष्टीकरण पनि दिए । दाहालले सरकारले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको दाबी समेत गरे ।