June 27, 2017

मधेसी मोर्चालाई लालबाबु पण्डितको चेतावनी

इनरुवा, २३ फाल्गुन । सुनसरीको इनरुवामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता लालबाबु पण्डितले एमाले पार्टी नुन खाएको कुखुरा जस्तो पार्टी नभएको बताएका छन् ।
उनले बन्दुकसँग नडराएका आफूहरु दुई / चारजना मधेसी मोर्चाका कार्यकर्ताले देखाएका लाठी देखाउदैमा नडराउने बताएका छन् ।
पण्डितले भने ‘हिजो बन्दुक तेर्साउँदा नडराएका हामीलाई दुई चारजनाले लाठी देखाउँदैमा हामी डराउँदैनौं । यो मधेसी मोर्चाले बुझे हुन्छ ।’
उनले अगाडी भने, ‘एमाले नुन खाएर झोक्रिइएको पार्टी होइन, लाठी देखाएर तर्साउन र धक्याउन छोडे हुन्छ ।’
एमालेले आतंक स्वीकार नगर्ने भन्दै मधेसी मोर्चालाई विरोध प्रदर्शन गरेर सभा नविथोल्न आग्रह समेत गरेका छन् । उनले एमाले एउटा कुनै जातिको पार्टी नभएको बताए ।
कार्यक्रममा एमाले नेतृ भगवती चौधरीले एमाले थारु, आदिवासी जनताति, मुस्लिम सवै समुदायको पार्टी भएको बताइन् ।
उनले अबको निर्वाचनबाट एमाले मधेसको सवैभन्दा ठूलो पार्टी बन्ने दाबी पनि गरेकी छन् ।
एमालेको र्याली सुनसरीबाट इनरुवा आउनेक्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।