September 25, 2017

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

दिनेश शर्मा
राजविराज, २३ फाल्गुन । एमालेको सभास्थल नजिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोली मेची महाकाली अभियान सभास्थल औद्योगिक क्षेत्र प्रवेश गर्ने क्रममा नाराजुलुस सहित पुगेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

औद्योगिक क्षेत्रको पूवपट्टी गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सद्भावना पार्टीका केन्द्रीय नेता भिमराज यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका सप्तरी जिल्ला अध्यक्ष सतिस सिंह लगायत करिब आधा दर्जन मोर्चाका नेता र कार्यकर्ता घाइते भएका छन् ।

यादव लगायत घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अहिले अभियान टोली कार्यक्रम स्थल राजविराज औधोगिक क्षेत्रमा प्रवेश गरी सकेको प्रेस चौतरी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।