October 22, 2017

मधेसी माेर्चाकाे सहभागिता बिना निर्वाचन असम्भव : नेपाली काँग्रेस

काठमाण्डौ,१४ चैत्र । कांग्रेसले सीमांकन हेरफेर आयोगमार्फत टुंग्याउने गरी बाँकी विषयमा संविधान संशोधन प्रस्ताव पारित गरेर मधेसी मोर्चाको पनि सहभागितामा स्थानीय चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यले मधेसी मोर्चाको सहभागिता नभए चुनाव सम्भव नभएको भन्दै तीनवटा बुँदा भए पनि संशोधन पास गरी अघि बढ्नुपर्ने धारणा राखेका हुन ।
बैठकको सुरुमै मधेसी मोर्चासँग भएका सहमति प्रयासका बारेमा वार्ताटोलीका सदस्य कृष्णप्रसाद सिटौला र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले ब्रिफिङ गरेका थिए। सिटौलाले सरकारले संसदमा पेस गरेको चारबुँदे संशोधन प्रस्तावको सीमांकनबाहेकका बुँदामा सहमति गर्न एमाले तयार देखिएको धारणा बैठकमा राखेका थिए ।

उनले सीमांकनसहित प्रस्ताव अघि बढे एमालेको समर्थन नहुने भएकाले प्रस्ताव पास हुन नसक्ने पनि बताएका थिए ।एमाले सीमांकनसहितको संशोधन प्रस्तावमा समर्थन गर्न तयार छैन सिटौलाले भने, मधेसी मोर्चाका कुराहरू बाझिएका छन ।

केही सीमांकनबाहेक समर्थन गर्ने पक्षमा र केही सीमांकनबाहेक कुनै पनि हालतमा समर्थन गर्न नहुने पक्षमा छन्। सिटौलाले शक्तिशाली आयोग बनाएर त्यसले सीमांकन टुंगो लगाउने सहमति भए मोर्चा चुनावमा आउन सक्ने देखिएको पनि बताएका थिए । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।