October 19, 2017

मधेसीमोर्चा समक्ष प्रधानमन्त्रीको अर्को प्रस्ताव

काठमाण्डौ,२४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन ।

प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरुसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँचबुँदे प्रस्तावलाई संसदमा लैजाने बताएका हुन । उनले पाँचबुँदे प्रस्ताव संसदमा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन ।

यता मोर्चाका नेताले पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको बताएका छन । प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँचबुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन तराई मधेस लोकतान्त्रिक पार्टी का उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले भने प्रधानमन्त्री ज्यू ले सरकार र मोर्चाको संयुक्त कार्यदलले सहमति जनाएको प्रस्ताव संसदमा दर्ता गर्छु र संशोधन विधेयक फिर्ता लिन्छु भन्नुभयो। हामीले दर्ता गर्ने तर पास नगर्ने हो भने कुनै अर्थ छैन भन्यौँ ।

पाँचबुँदे प्रस्तावमा सीमाङ्कन विवाद टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने, दुई र पाँच नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउने, संशोधन विधेयकको प्रदेश सीमा हेरफेर प्रस्ताव थाती राखेर अन्य विषय पारित गर्ने, स्थानीय तहले बनाउने नियम प्रदेश कानुनविपरीत नहुने उल्लेख छ ।

मोर्चाले स्थानीय तह प्रदेश मातहत हुनुपर्ने माग राख्दै आएको छ । पाँचबुँदे प्रस्तावमा पनि घुमाउरो पारामा स्थानीय तह प्रदेश मातहत हुने स्वीकारिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।