October 20, 2017

मधेसवादी दलहरुसंगको समझदारी राजनीतिक निकासमा कोशेढुंगा : कमल थापा

उद्धव घिमिरे/ विराटनगर, १० वैशाख  ।  उपप्रधान तथा स्थानिय विकासमन्त्रि कमल थापाले सरकार र मधेसवादी दलहरुबीच भएको समझदारी नेपालको राजनीतिक निकासमा कोशेढुंगा सावित हुने बताएका छन ।

विराटनगर विमानास्थलमा आज संञ्चारकर्मीहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री थापाले सरकार र मधेसवादी दलहरुबीच हिजो भएको समझदारीले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु भएको भन्दै यसले गतिरोध अन्त्य गरि मुलुकलाई निकास दिने दावी गरे ।

उपप्रधानमन्त्री थापाले अहिले भएको समझदारीले संविधान प्रति असमती जनाउँदै लामो समयदेखि आन्दोलनमा रहेका मधेशवादी दलहरु राष्ट्रिय राजनीतिको मुलधारमा आउने विश्वास व्यक्त गरे ।

उनले समझदारीलाई सबै दलले इमान्दारीताका साथ कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यसलाई एमालेलेपनि साथ दिनु पर्ने बताए ।

सरकार र मधेशवादी दलहरुबीच  भएको समझदारीले मुलकमा संविधान कार्यान्वयन संगै शान्ति, स्थायीत्व , प्रजातन्त्रको सुदृढीकरण र विकासमा महत्वपुर्ण योगदान पुग्ने थापाको भनाई थियो ।

 

उनले मधेशवादी दलहरु निर्वाचनमा सहभागी हुने भए वाधक नबन्ने एमालेले भनिसकेकोले सबैको सहमतीमा संविधान संशोधन हुने बताए ।

उपप्रधानमन्त्री थापाले दुई चरणमा  चुनाव गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श लिइने बताउँदै दुई चरणमा निर्वाचन गर्दा कुन प्रदेशको कुन मितिमा गर्ने भन्ने छलफल गरेर सरकारले तोक्ने  बताए । उहाँले मधेसवादी दलहरुको माग संम्बोधन गर्न मुख्यतय तराई मधेसका जिल्लाहरुको निर्वाचन केही पछि हुनसक्ने बताए ।

उपप्रधानमन्त्री थापाले नया शक्ति पार्टी लगायतका दलहरुको चुनाव चिन्हका विषयमा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएर व्यवहारिकरुपमा उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्न सक्ने बताए ।