October 20, 2017

मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु सक्रियः ओली

काठमाण्डौ, १३ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा राजनीतिको नाममा अपराधीहरु सक्रिय रहेको आरोप लगाएका छन् ।

आईतबार काठमाडौमा एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका सदस्यलाई शपथ ग्रहण गराउँदै ओलीले उनीहरु देशलाई सम्बृद्ध नबनाउने चलखेलमा लागेको बताए ।

उनीहरुकै अलोकतान्त्रिक गतिविधीको कारणले सप्तरीमा गोलीकाण्ड जस्तो दुःखद् घटना घटेको उनले आरोप लगाए ।

ओलीले देशको परिस्थिति अप्ठ्यारोमा रहेकोले मधेशमा रहेको भ्रम चिर्न सक्नुपर्ने समेत बताए । ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।

कार्यक्रममा ओलीले एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

गत फागुन २० मा झापाको बिर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले मधेसी र थारु नेताहरुलाई सामूहिक रुपमा केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।