August 22, 2017

मधेसका दुई चार जनाले भन्दैमा संविधान संशोधन हुदैन–रविन्द्र अधिकारी

काठमाण्डौ, २३ फाल्गुन । संसदको विकास समितिका सभापति तथा नेकपा एमालेका नेता रविन्द्र अधिकारीले मधेसका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् ।
रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बलियो बनाउन संविधान संशोधनभन्दा पहिला निर्वाचन गर्नुपर्ने बताए । उनले निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको बताए ।
उनले एमालेको मेची महाकाली अभियान देखेर केहि शक्तिहरु तर्सिएका र अभियान बिथोल्न लागिपरेको आरोप समेत लगाए ।
संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी हुने विश्वास व्यक्त गरे ।
प्रजातान्त्रिक पद्धतिमा पार्टीलाई सभा गर्ने छुट रहेको बताउँदै उनले अभियान बिथोल्न खोज्नेहरु राष्ट्र र राष्ट्रियताविरोधी भएको आरोप लगाए ।
उनले संविधान संशोधन प्रस्ताव नेपाली जनताको पक्षमा नभएको बताउँदै निर्वाचनको सुनिश्चिता देखाउन सरकारसँग मागसमेत गरेका छन् ।